वैदेशिक रोजगारीको प्रलोभन देखाएर भारत पुर्याइएका सात नेपाली किशोरीलाई भारतीय प्रहरीले सीमावर्ती पानीटङ्की नाकाबाट उद्धार गरेको छ। किशोरीहरूलाई भारत लैजाने प्रयासमा संलग्न दुई पुरुषलाई मानव तस्करीको आरोपमा भारतीय प्रहरीले पक्राउ गरेको छ।
माइती नेपाल कोशी प्रदेशका संयोजक गोविन्द घिमिरेका अनुसार, उद्धार कार्य शुक्रबार सम्पन्न गरिएको हो। उद्धारपछि सातै जना किशोरी र दुवै अभियुक्तलाई भारतको खोरीबारीस्थित प्रहरी थानामा राखिएको छ। उद्धार गरिएका सबै किशोरीहरू सङ्खुवासभा जिल्लाका रहेको जनाइएको छ।
मानव तस्करीमा संलग्न भनिएका व्यक्तिहरूमध्ये एक भारत दार्जिलिङस्थित तोरीबारीका ४१ वर्षीय दिपेश गुरुङ र अर्का सङ्खुवासभा मकालु–३ का ६१ वर्षीय जपन गुरुङ रहेका छन्।
उनीहरूले वैदेशिक रोजगारीको नाममा किशोरीहरूलाई हङ्कङ लैजाने भन्दै नेपाल–भारत सीमास्थित काँकडभिट्टा नाका हुँदै भारतको पानीटङ्की नाका पुर्याएका थिए। किशोरीहरूको लागि नक्कली आधार कार्डलगायत कागजात तयार पार्न सिलिगुढी लैजान लाग्दा भारतीय प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।
किशोरीहरूलाई नेपाल फर्काउन माइती नेपालका संयोजक घिमिरेसहितको टोली शुक्रबार नै पानीटङ्की पुगेको थियो। तर, कानुनी प्रक्रिया पूरा गर्नुपर्ने भन्दै भारतीय प्रहरीले उनीहरूलाई हालसम्म खोरीबारी प्रहरी थानामै राखेको जानकारी घिमिरेले दिएका छन्।
उक्त घटनाबारे भारतीय पक्षबाट कुनै आधिकारिक जानकारी प्राप्त नभएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ।