मन्दाकिनी हाइड्रोपावर कम्पनीले निर्माण गर्न लागेको २.९ मेगावाट क्षमताको माथिल्लो सार्दी खोला जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन (फाइनान्सियल क्लोजर) सम्पन्न भएको छ। कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका–२ मा निर्माण हुने यस आयोजनामा एनएमबी बैंकले ऋण लगानी गर्ने भएको छ।
साउन ११ गते आइतबार, आयोजना प्रवर्द्धक मन्दाकिनी हाइड्रोपावर र एनएमबी बैंकबीच औपचारिक रुपमा ऋण लगानीसम्बन्धी सम्झौता भएको हो। सम्झौतामा बैंकका दिगो बैंकिङ विभाग प्रमुख दिनेश दुलाल र प्रवर्द्धक कम्पनीका अध्यक्ष सरदकुमार दाहालले हस्ताक्षर गरेका छन्।
एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत गोबिन्द घिमिरेले प्रस्तावित आयोजना निर्धारित लागत तथा समयमानै सम्पन्न गर्न मन्दाकिनी हाइड्रोपावरलाई आग्रह गरे ।
यस्तै कम्पनीका अध्यक्ष शरद कुमार दाहालले वित्तिय व्यवस्थापनमा सहयोग गरेकोेमा एनएमबि बैंकलाई धन्यवाद ज्ञापन गर्दै माथिल्लो सार्दी खोला जलविद्युत आयोजना निर्धारित लागत तथा समयसिमामा नै सम्पन्न गर्ने विचार व्यक्त गरे। यसका लागि उनले स्थानीय सरकारसँग सहकार्य गरेर आयोजना अगाडि बढउने प्रतिवद्धता समेत व्यक्त गरे ।
आयोजनाको कुल लागत लगभग ६५ करोड रुपैयाँ रहेको छ, जसमा ७० प्रतिशत अर्थात् ४५ करोड ५० लाख रुपैयाँ बैंकबाट ऋणमार्फत लगानी हुनेछ भने बाँकी ३० प्रतिशत स्वपुँजी प्रवर्द्धक कम्पनीबाट जुटाइनेछ। कम्पनीले स्वपुँजी संकलनका लागि हकप्रद सेयर जारी गर्ने तयारी समेत गरेको छ।
यसअघि निर्माण गरिएको ४ मेगावाट क्षमताको सार्दी जलविद्युत् आयोजना २०७४ मंसिर २३ गतेदेखि नियमित रूपमा विद्युत् उत्पादन गरिरहेको जानकारी दिइएकाे छ।
नेपाल राष्ट्र बैंकबाट जारी इन्भारोमेन्टल एण्ड शोसल रिस्क म्यानेजमेन्ट, २०२२ को निर्देशन अनुसार एनएमबि बैंकले वातावरणीय तथा सामाजिक नीति तयार पारी सो बमोजिम आयोजनाको पर्यावरण संरचना तथा सामाजिक जोखिम व्यवस्थापन गर्नको लागि बैंकले पर्यावरण तथा सामाजिक व्यवस्थापन प्रणाली लागु गरिसकेको छ ।
एनएमबि बैंकले हाल देशभरी २०२ शाखाहरु, १८७ एटिएमहरु र ९ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।