गृहमन्त्री रमेश लेखकले विपद् प्रतिकार्य खोज, उद्दार र राहत जस्ता कामका लागि अत्याधुनिक प्रविधि प्रयोग गर्ने ठाउँमा पुगेको बताएका छन् । मंगलबार गृह मन्त्रालयमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल मानव रहित विमान (ड्रोन) संघ-नेपाल ड्रोन संघबिच भएको समझदारी पत्रमा हस्ताक्षर कार्यक्रममा बोल्दै गृहमन्त्री लेखकले ड्रोनको प्रयोगले विपद् प्रतिकार्य खोज, उद्दार र राहत (औषधी र पानी लगायत) ड्रोन मार्फत पुर्याउन सकिने बताए ।
उनले विपद्को पुर्व सूचना र प्रतिकार्यका लागि तयारी अवस्थामा बस्न जरुरी रहेको बताउँदै पूर्व सूचनालाई चुस्तदुरुस्त गर्ने गरी अगाडी बढेको जानकारी दिए । उनले भने- 'हामी विपद्को उच्च जोखिम भएको भूगोलमा छौं । बाढी पहिरो, भूकम्प, चट्याङ र लूदेखि हिउँ लाग्ने सम्मको जोखिममा छौं । हामी अब नीजि क्षेत्रमा काम गरिरहेका संस्था, व्यक्तिहरु पनि विपद् प्रतिकार्यमा जोडिनुपर्छ भनेर समझादारी गरेका छौं ।'
मन्त्री लेखकले विपद् प्रतिकार्यमा सबैले साझा रुपले हातेमालो गरेर विपद्को व्यवस्थापनका लागि सरकार र नीजि क्षेत्र समेत मिलेर अगाडी बढ्ने काम भइरहेको बताए । नागरिकको जिउधनको रक्षा गर्ने विषयसित जोडेर राष्ट्रको महत्वपूर्ण दायित्व पालना गर्न अघि बढेकोप्रति ड्रोन संघलाई मन्त्री लेखकले धन्यवाद समेत ज्ञापन गरे ।
समझदारी पत्रमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल मानव रहित विमान (ड्रोन) संघ बीच सहकार्य गर्ने गरी सम्झौता भएको छ । जसमा खोज तथा उद्धार, राहत वितरण तथा अन्य सामाग्री ढुवानी, विपद् प्रभावित क्षेत्रको निरिक्षण, भौगोलिक नक्साङ्कन तथा इिमेजिङ, क्षति मूल्याङ्कन र सूचना संकलन तथा विश्लेषण कार्य गरिनेछ ।
त्यस्तै विपद्को समयमा ड्रोनको प्रयोग गर्न प्राधिकरणले आवश्यक देखी माग गरेमा ड्रोन संघले निःशुल्क रूपमा ड्रोन र तत् सम्बन्धी उपकरण (पाईलट सहित) उपलब्ध गराउने समझदारी पत्रमा उल्लेख छ । र सो कार्यमा खटिने सदस्यहरूको यात्रा र बसोबासको व्यवस्था प्राधिकरणले गर्नेछ ।
प्रचलित कानून र ड्रोन उडान सम्बन्धी अनुमति लिएका ड्रोन र पाइलट विपद्को समयमा परिचालन गर्न आवश्यक समन्वय र सहजीकरण प्राधिकरणले गर्ने भनिएको छ ।
ड्रोन सञ्चालनका सन्दर्भमा आवश्यक मार्गनिर्देशन, समन्वय र सहजीकरणका समन्वय समिति गठन समेत गरिएको छ । जसमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, प्रतिकार्य शाखा प्रमुख संयोजक रहनेछन् ।
प्राधिकरणको समन्वयमा तत्काल ड्रोन उडान गर्ने/गराउने गरी गृह मन्त्रालय, विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाले परिचालन गर्नेछ । उक्त समझदारी एक बर्षसम्म कायम रहने र आपसी समझदारीमा पुनः नवीकरण गर्न सकिने शर्त राखिएको छ ।
कार्यक्रममा निमित्त गृहसचिब जयनारायण आचार्य, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण कार्यकारी प्रमुख इन्जिनियर दिनेश भट्ट, नेपाल ड्रोन संघका अध्यक्ष राजबाबु महर्जन लगायतको सहभागिता रहेको थियो । यसअघि मन्त्रालयले हेलिकप्टर एसोसियसनसंग पनि विपद् प्रतिकार्यका लागि निःशुल्क हवाई उद्दार लगायतका विषय समेटेर समझदारी गरेको थियो ।