भारतमा जारी इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेट २०२५ को सिजन रोकिएको छ । इण्डियन प्रिमियर लिग (आईपीएल) २०२५ को हालसम्म चलिरहेको सिजनलाई भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) ले अनिश्चितकालका लागि स्थगित गरेको हो।
बिहीबार, मे ९ मा सम्पन्न आपतकालीन बैठकपछि बीसीसीआईले आजदेखि लागू हुने गरी सम्पूर्ण खेलहरू रोक्ने निर्णय गरेको हो। पाकिस्तानसँग बढ्दो तनावका बीच बीसीसीआईले आईपीएल स्थगित गर्ने निर्णय गरेको हो ।त्यसपछि खेलाडी, टिमका सदस्य र अफिसियलहरूलाई सुरक्षित स्थानमा सारिएको थियो ।
बीसीसीआईले जारी विज्ञप्तिमा जनाएको छ कि वर्तमान परिस्थितिमा विदेशी खेलाडीहरूको सुरक्षालाई ध्यानमा राख्दै सबैभन्दा पहिले उनीहरूलाई सुरक्षित रूपमा स्वदेश फर्काउने व्यवस्था मिलाइनेछ। साथै, लिगका बाँकी खेलहरूको नयाँ तालिका चाँडै सार्वजनिक गरिने जानकारी पनि बोर्डले दिएको छ।
आईपीएल २०२५ मा अहिलेसम्म ५८ खेल सम्पन्न भइसकेका छन्। यी मध्ये ८ मे (हिजो)मा धर्मशालामा आयोजना भएको पंजाब किंग्स र दिल्ली क्यापिटल्सबीचको खेल पनि समावेश छ, जुन भारत–पाकिस्तानबीचको बढ्दो तनावका कारण बीचमै रद्द गरिएको थियो। त्यसपछिको सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै धर्मशालास्थित हिमाचल प्रदेश क्रिकेट संघ (HPCA) स्टेडियम खाली गराइएको थियो।
धर्मशालामा रहेका खेलाडीहरूलाई दिल्ली ल्याउनका लागि एक विशेष रेल सेवा सञ्चालन गरिएको छ। आईपीएलको निर्धारित कार्यक्रमअनुसार अझै १२ वटा लिग खेल र कोलकातामा हुने फाइनलसहित ४ वटा नॉकआउट खेल बाँकी थिए। तर हालको अवस्थामा ती सबै खेलहरू अनिश्चित भएका छन्।
लीगसँग सम्बन्धित स्रोतहरूका अनुसार भारत–पाकिस्तानबीचको सम्भावित सैन्य तनावले विदेशी खेलाडीहरूमा ठूलो असुरक्षा र चिन्ता पैदा गराएको छ। यही कारण अधिकांश विदेशी खेलाडीहरू आगामी केही दिनभित्रै स्वदेश फर्किने तयारीमा छन्। उल्लेखनीय छ कि गत वर्षको मेगा नीलामीमा १० वटा फ्रेन्चाइजहरूले ६२ जना विदेशी खेलाडी अनुबन्ध गरेका थिए।
आईपीएल २०२५ को फाइनल २५ मेमा कोलकातामा आयोजना हुने तय भएको थियो। यद्यपि, अब उक्त मिति पनि अन्योलमा परेको छ। बीसीसीआईले समग्र परिस्थिति स्थिर भएपछि मात्र लिग पुनः सुरु गर्ने निर्णय लिने स्पष्ट संकेत दिएको छ।