नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा थाइल्यान्डको बैंकक प्रस्थान गरेका छन् । आइतबार पत्नी डा. आरजु राणा देउवा, छोराबुहारी जयवीर–शिवानासहित देउवा बैंकक प्रस्थान गरेका हुन् ।
परराष्ट्रमन्त्री डा. राणा भने अप्रिल २१ देखि २५ सम्म बैंककमा हुने संयुक्त राष्ट्रसंघीय एसिया तथा प्रशान्त क्षेत्रीय आर्थिक तथा सामाजिक आयोग (युएनस्केप)को ८१ औँ सत्रमा सहभागी हुन बैंकक गएकी हुन् । सोहि अवसरमा देउवा पनि आफ्नो नियमित स्वास्थ्य जाँचका लागि बैंकक गएको परिवारस्रोतले जनाएको छ ।
सभापति देउवा थाइल्याण्ड गएपछि उनले पार्टीको कार्यबाहक सभापतिको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्कालाई तोकेका छन् । कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आइतबार विज्ञप्ति जारी गर्दै सभापति देउवाले आफू नफर्केसम्मका लागि खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी प्रदान गरेको उल्लेख गरेका छन् ।
परिवार र नजिकका नेताहरुले देउवाको यो थाइल्याण्ड भ्रमण नितान्त निजी र कुनै राजनीतिक भेटघाट नहुने बताइएको भएपनि सत्ता गठबन्धनमा हाल असन्तुष्टि बढिरहेको बेलामा भएको यस भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
देउवालाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लगातार प्रधानमन्त्री बन्न आग्रह गरिरहेका छन् ।