बालबालिकाको प्राणघातक रोग रुबेला उन्मूलनमा नेपालले सफलता पाएको छ । विश्व स्वास्थ्य संगठनको दक्षिण–पूर्वी एशिया क्षेत्रीय प्रमाणीकरण आयोगले नेपालले रुबेला उन्मूलनमा सफलता पाएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेललाई बधाइ ज्ञापन गरेको छ ।
लामो समयदेखि प्रयास भैरहे पनि बालबालिकाको ज्यानै लिने कारक यस रोगको उन्मूलन हुन सकेको थिएन । केही समययता नेपालले गरेको प्रगतिको मानकलाई आधार मानेर विश्व स्वास्थ्य संगठनले नेपालमा रुबेला उन्मूलन भएको घोषणा गरेको हो ।
संगठनका दक्षिण पूर्वी एसिया कार्यलय प्रमुख डा. क्याथरिना बोएह्मले स्वास्थ्य तथा जनसंख्या मन्त्री पौडेललाई पठाएको पत्रमा नेपाल र मन्त्री पौडेललाई यो महत्वपूर्ण सार्वजनिक स्वास्थ्य उपलब्धि भन्दै बधाइ ज्ञापन गरिएको छ । मन्त्री पौडेलले सामाजिक सञ्जालमा लेख्दै यस कार्यमा सक्रिय सबै स्वस्थ्यकर्मी, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालगायत साझेदारहरुलाई धन्यवाद दिएका छन् ।
‘यो ऐतिहासिक उपलब्धि नेपाल सरकारको दृढ इच्छाशक्ति, अहोरात्र खटिनुहुने सम्पूर्ण स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकाहरूको अथक परिश्रम, सचेत नागरिक समाजको सक्रिय सहभागिता र हाम्रा विकास साझेदारहरूको निरन्तर सहयोग तथा समन्वयबाट सम्भव भएको हो,’ मन्त्री पौडेलले भनेका छन् ।
मन्त्री पौडेलले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय यस उपलब्धिलाई दिगो बनाउन र भविष्यमा यस्ता रोगहरूबाट हाम्रा नागरिक र विशेषगरी बालबालिकालाई पूर्ण रूपमा सुरक्षित राख्न प्रतिवद्ध रहेको भन्दै यसका लागि हामी निरन्तर खोप सेवाको पहुँच विस्तार, रोग–निगरानी प्रणालीको सुदृढीकरण तथा निवारण पश्चातको कार्ययोजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने बताएका छन् ।
‘यस राष्ट्रिय गौरवको अभियानमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा योगदान पुर्याउनुहुने सबैप्रति हार्दिक आभार प्रकट गर्दछु,’ उनले भनेका छन् ।