सत्तारुढ नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफ्नो पार्टी नेपालमा लोकतन्त्रको मानक स्थापित गर्ने पार्टी भएको दावी गरेका छन् । आज (आइतबार) नेकपा एमाले कञ्चनपुरद्वारा आयोजित ९ औं जिल्ला अधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठकलाई सम्बोधन गर्दै उनले लोकतन्त्रको बाटोमा अरूलाई पनि डोर्याउने पार्टी एमाले नै भएको जिकिर गरे ।
अरूले के गर्दछ भन्दा पनि एमाले के गर्दछ भन्ने कुरा देशको लोकतन्त्रका लागि मानक बन्ने उनले बताए । त्यसैले पूर्व राष्ट्रपति सक्रिय राजनीतिमा आउनु हुँदैन भन्ने विषयमा एमालेले यो सबै सोच विचार गरेर निर्णय गरेको उनको भनाइ छ ।
सभामुख र राष्ट्रपति राजनीतिमा आउने विषय फरक भएको उनले बताएका छन् । राष्ट्रपति निर्वाचित भएपछि प्रतिनिधिसभाको सदस्यबाट नै राजीनामा दिनु पर्ने तर, सभामुख प्रतिनिधिसभाको सदस्य हुने कुराले यी दुई बीचको फरक छुट्याउन सकिने उनको धारणा छ । ‘अरू सम्माननीयको भूमिका भन्दा राष्ट्रपति र उपराष्ट्रपति भूमिका फरक हुन्छ’, उनले भने ।
पार्टीभित्र हुर्कदै गएको अवसरवाद पार्टीको लागि घातक भएको उनले बताएका छन् । एमालेले मिसन २०८४ घोषणा गरेको बताउँदै उनले त्यसलाई सफल गराउन अवसरवादलाई परास्त गर्न सक्नु पर्ने बताए । ‘मिसन २०८४ लाई सफल गराउने हो भने पार्टीभित्र रहेको अवसरवादलाई जित्न सक्नु पर्दछ’, उनले भने ।
पार्टी सबैभन्दा बढी एकताबद्ध चुनावको बेलामा हुनुपर्ने बताउँदै उनले पार्टीमा चुनावको बेलामा धोका दिने प्रवृत्ति मौलाएको बताए । ‘अघिपछि एमाले भइरहने, चुनावको बेला एमाले छाड्ने नेता–कार्यकर्ता चाहिँदैन’, उनले भने ।
भीम रावललाई पार्टीमा राख्न धेरै प्रयत्न भएको बताउँदै उनलाई उपाध्यक्ष बनाउने कुरामा सर्वसम्मति जुटेको भए पनि अध्यक्षमा चुनाव लडेर हारेपछि पार्टी र नेतृत्व विरुद्ध अनेक खालका आक्षेप लगाउँदै हिँडेको पोखरेलले टिप्पणी गरे ।
सामाजिक सञ्जालमा लोकप्रियता प्राप्त गरेका भरमा पनि पार्टी र देश चलाउन नसकिने उनले बताए । आज सामाजिक सञ्जालबाट लोकप्रिय हुन चाहनेहरू एमालेको संगठन देखेर जलेका र एमालेविरुद्ध कुप्रचारमा लागेको उनले आरोप लगाए ।
रास्वपालाई जे– जे माग्छ एमालेले त्यही त्यही दिँदै गएको उनले बताए । तर, उनीहरूको एकपछि अर्का अपराध सार्वजनिक हुँदै गएपछि र मुद्दा अघि बढेपछि रास्वपाका नेताहरू प्रतिशोध साँधियो भन्दै हिँडेका पोखरेलको भनाइ छ ।