नेकपा एमालेको दोस्रो विधान महाधिवेशनमा २३ सय ९२ जना सहभागी हुने भएका छन् । भदौ २० देखि २२ गतेसम्म हुने दोस्रो विधान महाधिवेशन देशभरबाट प्रतिनिधि र आयोजक गरी २३ सय ९२ जना सहभागी हुने भएका हुन् ।
०७८ मा चितवनमा भएको १० औँ राष्ट्रिय महाधिवेशनका प्रतिनिधि २१ सय २८ जना मात्र विधान महाधिवेशनका प्रतिनिधि हुने छन् । अन्य २६४ जना भने आयोजकको रुपमा सहभागी हुने पार्टी स्थायी कमिटी सदस्य एवं प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
उनका अनुसार प्रतिनिधिहरुलाई डिजिटल कार्डको व्यवस्था गरिनेछ । महाधिवेशनलाई भव्य बनाउन एमालेले सातदोबाटो देखि गोदावरी सनराइज हलसम्म विभिन्न ठाउँमा स्वागतद्वार राख्ने निर्णय गरेको छ ।
गौतमका अनुसार बागमती प्रदेश, ललितपुर जिल्ला, स्थानीय कमिटी र जनसंगठनहरुका तर्फबाट स्वागतद्वार राखिने भएको हो । यसैगरी महाधिवेशन स्थलमा कम्तीमा ३ सय जना स्वयंसेवक परिचालन गर्ने तयारी छ । स्वयंसेवकको जिम्मा युवा संघ, खेलकुद महासंघ लगायतका जनसंगठनले लिएका छन् ।