नेपाल एसबिआई बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने आज साउन १ गते अन्तिम दिन रहेको छ । असार ३० गतेदेखि बिक्री खुला भएको सो ऋणपत्रमा आजसम्म आवेदन दिन सकिने छ ।
१० वर्ष अवधिको उक्त नेपाल एसबिआई बैंक ऋणपत्र २०९०’को वार्षिक ७ प्रतिशत ब्याजदर रहने छ । बैंकले ३ अर्ब रुपैयाँ बराबरको प्रति ऋणपत्र १००० रुपैयाँ अंकित मूल्यको ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो।
जसको ६० प्रतिशत अर्थात् १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट र ४० प्रतिशत अर्थात् १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणमा बाँडफाँट गरिने कम्पनीले जनाएको छ।
सर्वसाधारण मध्येको ५ प्रतिशतले हुन आउने ६० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरूका लागि छुट्याइएको छ। सो ऋणपत्रमा न्यूनतम् २५ र सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन्। बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।