शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोडको बजेट (पूर्णपाठ)

काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोडको बजेट (पूर्णपाठ)

आषाढ २९, २०८२ आइतवार
आषाढ २९, २०८२ आइतवार
  • काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोडको बजेट (पूर्णपाठ)

     काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/ ८३ का लागि बजेट सार्बजनिक गरेको छ । आइतबार राष्ट्रिय सभा गृहमा बसेको नगर सभा बैठकमा उपमेयर सुनिता डंगोलले आगामी आर्थिक वर्षका लागि २५ अर्ब ७६ करोड ४३ लाख रुपैयाँको बजेट सार्बजनिक गरेकी हुन्।

    डंगोलले महानगरको बजेटमा पूर्वाधारमा ५१ प्रतिशत, शिक्षा स्वास्थ्य तथा सामाजिक क्षेत्रमा २० प्रतिशत र बाँकी अन्य क्षेत्रका लागि बजेट विनियोजन गरेको बताएकी छन् । यस अघि आजैको नगरसभा मेयर बालेन शाहले महानगरले नीति तथा कार्यक्रम पेश गरेका थिए । 

    स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ अनुसार स्थानीय तहले आगामी आर्थिक वर्षको राजस्व र व्यय (बजेट) को अनुमान कार्यपालिकाबाट स्वीकृत गराई असार १० भित्र सभामा पेस गर्नुपर्ने उल्लेख भएपनि काठमाडौं महानगरमा मेयर बालेन शाह र प्रमुख कार्यकारी अधिकृत सरोज गुरागाईंबीचको विवादले सो समयभित्र नीति तथा कार्यक्रम र बजेट आउन नसकेको हो ।

    डंगोले नगरसभाको १७औँ अधिवेशनको पहिलो बैठकमा बजेट पेस गरेकी हुन् । उनले २५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँ सञ्चित कोषमा व्ययभार पर्ने र ६५ करोड रुपैयाँ अन्य बाह्य व्ययभार हुने गरी बजेट ल्याइएको बताइन् । महानगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ का लागि २४ अर्ब ९० करोड ६३ लाख २५ हजार रुपैयाँको बजेट पारित गरेको थियो ।

    ‘‘अगामी आर्थिक वर्षका लागि संचित कोषमा २५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँ जम्मा हुने देखिएको छ । जसमध्ये काठमाडौं महानगरपालिकाको आन्तरिक आय र बैंक मौज्दात गरी कुल २० अर्ब १२ करोड ६४ लाख रुपैयाँको स्रोत व्यवस्थापन हुने अनुमान गरिएको छ,’’ उनले बजेट भाषणका क्रममा भनिन्, ‘‘नेपाल सरकार तथा प्रदेश सरकारबाट शसर्त, समानीकरण, राजस्व बाँडफाँडबाट प्राप्त हुने अनुदान ४ अर्ब ९८ करोड ७९ लाख ४१ हजार रुपैयाँको स्रोत सुनिश्चित भएको छ ।’’

    काठमाडौं महानगरपालिकाले आर्थिक विकासमा कुल बजेटको ३ प्रतिशत अर्थात ७५ करोड ३४ लाख ३० हजार रुपैयाँ प्रस्ताव गरेको छ भने सामाजिक विकासमा २० प्रतिशत अर्थात ५ अर्ब २ करोड २८ लाख ६८ हजार रुपैयाँ प्रस्ताव गरेको छ ।

    ‘‘पूर्वाधार विकासतर्फ ५१ प्रतिशत अर्थात १२ अर्ब ८० करोड ८३ लाख १४ हजार रुपैयाँ रहेको छ भने सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ १२ प्रतिशत अर्थात ३ अर्ब १ करोड ३७ लाख २१ हजार रुपैयाँ प्रस्ताव गरिएको छ,’’ उनले बजेट भाषणमा भनिन्, ‘‘कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रतर्फ १४ प्रतिशत अर्थात ३ अर्ब ५१ करोड ६० लाख ८ हजार रुपैयाँ प्रस्ताव गरिएको छ ।’’

    अगामी आर्थिक वर्षमा काठमाडौं महानगरपालिका क्षेत्रभित्रका पूर्वाधार योजनाहरुलाई उच्च प्राथमिकतामा राखिएको उनले जानकारी दिइन् ।

    ‘‘फोहरमैला व्यवस्थापन, विद्यालय शिक्षा प्रणालीमा सुधार, सुशासन प्रवर्द्धन, शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रको क्षमतावृद्धि, एक वडा एक उद्यम कार्यक्रमलाई प्रवर्द्धन गरी रोजगारी र आयवृद्धि गर्ने कार्यक्रमहरुलाई समेत उच्च प्राथमिकतामा राखिएको छ,’’ उनले भनिन्, ‘‘यसैगरी काठमाडौं महानगरपालिका क्षेत्रभित्रको ध्वनि प्रदूषण कम गर्ने, सार्वजनिक यातायातलाई व्यवस्थित गर्ने, महानगर क्षेत्रभित्रका ऐतिहासिक, धार्मिक, पुरातात्त्विक महत्व बोकेका मठ, मन्दिर, बहाल, पोखरी, हिटी, वहाः, वही, ननीलगायतका सम्पदास्थलहरूको संरक्षण र प्रवर्द्धनमा समेत यथेष्ट बजेट व्यवस्थापन गरिएको छ ।’’

    उनले आगामी आर्थिक वर्ष २०८२/०८३ को वार्षिक नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्ने सन्दर्भमा स्थानीय सरकार सञ्चालन ऐनमा भएको समयसीमा भन्दा केही ढिलो भएको स्वीकार गरिन् । विगतका दिनमा केही मनमुटावले ढिलो भएको पनि उल्लेख गरिन् ।

    ‘‘हामीबीच केही अविश्वास, केही तिता–मिठा अनुभव प्रस्तुत भए, आरोप–प्रत्यारोप पनि भए, सबै कुरा मन्थन भयो । समस्याहरू समाधान पनि भए र आज हामी फेरि एकढिक्का भएर यस गरिमामय सभामा उपस्थित भएका छौं,’’ उनले भनिन्, ‘‘समयमै आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रम सभामा पेश गर्न नसकेकोमा मेरो व्यक्तिगत तर्फबाट र सबै नगरसभा सदस्यहरूको तर्फबाट महानगरवासी र सरोकारवाला निकायसमक्ष क्षमायाचना व्यक्त गर्दछौं ।’’

    उनले ढिलो भए पनि आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रम ल्याउन सबैले महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै जनप्रतिनिधि र कर्मचारी सबैलाई धन्यवाद दिइन् ।

    ‘‘हाम्रो सहयात्रा ३ वर्ष पुगिसकेको छ । जनताको अपेक्षा धेरै छन्, अबका दिनमा हामी महानगरवासीलाई आफ्नो सामर्थ्यले भ्याउनेसम्मको काम गर्ने प्रण यसै सभामार्फत गर्न चाहन्छु,’’ उनले भनिन्, ‘‘जसलाई पूरा गर्न आपसमा सहमति, समन्वय र सहअस्तित्वको भावना सहित सहकार्य गरेमा जनताको इच्छा पूरा गर्न सहज हुन्छ भन्ने मैले विश्वास लिएकी छु ।’’

    उनले आफूहरू काठमाडौंको विकास गर्न आएका निर्वाचित जनप्रतिनिधि भएको बताउँदै काठमाडौंको मुहार परिवर्तन गर्न अन्य निकाय र सरोकारवाला निकायहरूबीच परस्पर सहकार्य र समन्वयमा काम अगाडि बढाउन चाहेको पनि उल्लेख गरिन् ।

    ‘‘यसका लागि हामीले संघ र प्रदेश सरकारसँग सधैँ सहकार्यको अपेक्षा राखेका छौँ,’’ उनले भनिन् ।

    पूर्णपाठ  

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार