म्याग्दीको बेनी नगरपालिका–४ सिङ्गा तातोपानीमा रहेको सरस्वती माविको कक्षा ८ का विद्यार्थी जोन पुनको ‘हाउस वायरिङ’ सम्बन्धी तालिम लिएपछि आत्मविश्वास बढेको छ ।
‘घर, समाजमा दिनानु दिन आवश्यक पर्ने व्यवहारिक सीप हासिल गरेपछि भविष्यमा काम नपाएर बेरोजगार हुनुपर्ला भन्ने चिन्ता हटेको छ’, उनले भने, ‘आधारभूत सीपले घर, छिमेकमा आवश्यक पर्दा काम फुकाउन सक्ने र भविष्यमा आफै स्वरोजगार बन्न पनि सकिन्छ ।’ बेनी नगरपालिकाको ‘उइ क्यान, उइ डु’ (हामी सक्छौ, हामी गर्छौ) कार्यक्रममार्फत सरस्वती माविको ८, ९ र १० कक्षाका १९ जना विद्यार्थीलाई २० दिनसम्म घर तथा भवनमा वायरिङ गर्ने सिप सिकाइएको थियो ।
बेनी–८ कालीपुलमा रहेको बालमन्दिर माविको कक्षा ९ का विद्यार्थी आस्विम किसान ४ बजे विद्यालय छुट्टी भएपछि थप दुई घण्टा पलम्बिङसम्बन्धी सीप सिकेर छ बजे घर जान्छन् । आस्मिन जस्तै कक्षा ८, ९ र ११ मा पढ्ने १६ जना विद्यार्थीले उनीहरुको रुचीअनुसार २१ दिने पलम्बिङसम्बन्धी सीप सिकिरहेका छन् । खानेपानीको पाइपलाइन तान्ने, जमिनमा गाड्ने, जोड्ने, धारा, भान्छाकोठा, शौचालय, शयनकक्षमा धारा जडान गर्ने विषयमा व्यवहारिक सिप सिक्न पाउँदा उत्साहित भएको किसानले बताए ।
बेनी सामुदायिक विद्यालयले सञ्चालन गरेको कपाल काट्ने तालिममा सहभागी कक्षा ११ का सुयोग रेग्मीले घर परिवारका सदस्यको कपाल काटे पनि खर्च बचत हुने र भविष्यमा व्यवसाय सञ्चालनका लागि सिकेको सीपले सहज हुने बताउँछन्। ‘भविष्यमा केही काम र कतै रोजगारी नपाएपछि यही कपाल काट्ने पेशा गरेर पनि जीवन चलाउन सकिन्छ भनेर आत्मविश्वास बढेको र सम्भावना देख्न थालेको छु’, उनले भने, ‘आफैले ब्यवसाय नगरे पनि घरका अभिभावक, आफन्त र बालबच्चाको कपाल काट्न शैलुन जानु नपरेपछि खर्च र समयको बचत हुन्छ ।’
विहीबार समापन भएको तालिममा कक्षा ८, ९ र ११ का २५ जना छात्र–छात्रा सहभागी थिए । सरस्वतीका जोन, बालमन्दिरका आस्विन र बेनी सामुदायिकका सुयोग जस्तै बेनी नगरपालिकाको मावि तहका विद्यार्थी हिजोआजा विभिन्न सिपमुलक तालिम लिइरहेका छन् । बेनी नगरपालिकाले ‘हामी सक्छौँ, हामी गर्छौ’ कार्यक्रममार्फत विद्यार्थीहरुलाई पढाइसँगै सीप सिकाउने व्यवस्था मिलाएको हो ।
बेनीमा रहेका १६ वटा माध्यमिक विद्यालयमध्ये १४ वटाले सीपमुलक तालिम सञ्चालन गरेका छन् । चालु आर्थिक वर्ष २०८१/०८२ मा नगरपालिकाले उक्त कार्यक्रमका लागि प्रत्येक विद्यालयलाई रु एक-एक लाखका दरले रु १६ लाख बजेट बिनियोजन गरेको थियो ।
नगरपालिकाको अनुदानबाट तालिम सामग्री खरिद, प्रशिक्षक भत्ता र सहभागीलाई खाजाको व्यवस्था मिलाएका छन् । बिहान बेलुकी विद्यार्थीको अनुकूल समयमा आलोपालो गरेर तालिममा सहभागी हुने व्यवस्था मिलाइएको छ । ३३० जना विद्यार्थी सीपमूलक तालिममा सहभागी भएका नगर शिक्षा अधिकृत कमल ढकालले बताए । माध्यमिक तहमा अध्ययन गर्ने विद्यार्थीलाई विद्यालयमै सीप सिकाउन ‘हामी सक्छौँ, हामी गर्छौ’ कार्यक्रम सञ्चालन भएको हो । विद्यार्थी र शिक्षालाई सीप र श्रमसँग जोड्न कार्यक्रम सञ्चालन गरिएको नगर प्रमुख सुरत केसीले जानकारी दिए ।
आर्थिक वर्ष २०७९/०८० मा १० वटा विद्यालयमा सञ्चालन भएको कार्यक्रम प्रभावकारी भएपछि २०८०/०८१ र २०८१/०८२ देखि नगरपालिकामा रहेका १६ वटै माध्यमिक विद्यालयमा सञ्चालन गरिएको हो । विद्यालय तहको शिक्षा हासिल गरेको विद्यार्थीले शिक्षासँगै केही न केही सीप लिएर समाजमा पुगोस् भन्ने अवधारणा अनुसार कार्यक्रम अघि सारिएको नगर प्रमुख केसीले बताए । विद्यालयले ‘हाउस वायरिङ’, ‘पलम्बीङ’, ‘हेयर कटिङ’, भित्तेलेखन, यान्त्रिक हलो मर्मत, ‘सर्वे क्याम्प’ बाँसबाट सजावटका सामान बनाउने, सौन्दर्यकला, च्याउ र खुर्सानी खेतीसम्बन्धी सीप सिकाउन तालिम सञ्चालन गरेका छन् ।
बेनी नगरपालिका–१० पात्लेखेतस्थित दिपक माध्यमिक विद्यालयको कक्षा ९ र १० मा अध्ययन गर्ने २३ जना विद्यार्थीहरुले सामुहिक रूपमा ‘केन्ये’ जातको च्याउ खेती गरेका छन् । बेनी नगरपालिका–९ तोरीपानीको गलेश्वर माविले प्राविधिक धारतर्फ सिभिल इञ्जिनियरीङ विषय अध्ययन गर्ने विद्यार्थीहरुलाई ‘सर्वे क्याम्प’ मार्फत भवन, सडक, पुलको सर्वे गर्ने व्यवहारिक सीप सिकाएको छ । सोही वडाको नेप्टेचौरमा रहेको राष्ट्रिय माध्यमिक विद्यालयका १५ जना विद्यार्थीका लागि कपाल काट्ने सीप प्रदान गरिएको शिक्षक रामचन्द्र पौडेलले बताए । जामुनाखर्क १५ जनालाई सौन्दर्यकला, पुलाचौरको जनकल्याण माविले २६ जनालाई बाँसबाट सजावटका सामान बनाउने तालिम सञ्चालन गरेको छ ।
पौलत्स्य मावि भिरमुनीले २१ जनालाई मिनिटेलर (यान्त्रिक हलो) मर्मतसम्बन्धी सीप सिकाएको छ । बेनीको प्रकाश मावि, अर्जमको रामचन्द्र मावि र धवलागिरी माविले हाउस वायरिङसम्बन्धी तालिम चलाएका छन् । प्रकाश माविमा ३०, रामचन्द्रमा ३३ र धवलागिरी माविमा २३ जना सहभागी भएका छन् । भकुण्डेको अर्जुन माविले सञ्चालन गरेको १५ दिने भित्तलेखन तालिममा ३१ जना सहभागी छन् ।
भकिम्लीको जयन्ति माविका २५ जना विद्यार्थीहरुले अकवरे जातको खुर्सानी खेती गरेका छन् । विद्यार्थीले सिकेका सीपको व्यवहारमा प्रयोगमा ल्याएर उद्यम व्यवसाय गर्नु भन्दा पनि वैदेशिक रोजगारीतर्फ बढ्दो आकर्षण यस कार्यक्रमको प्रमुख चुनौति हो । आधारभूत तहको सीप सिकेकालाई ब्यवसाय बन्न चाहेमा विद्यालय अथवा नगरपालिकाले विउपुजीको ब्यवस्था गरेर ‘पढ्दै कमाउदै गर्ने’ कार्यक्रममा जोड्न सकेमा थप प्रभावकारी हुने बालमन्दिर माविका प्रअ सुरेन्द्र केसीले बताए ।