नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एमाले)ले यही जेठ १५ गते काठमाडौं कब्जा गर्ने भन्ने गफले बेइज्जत भएको टिप्पणी गरेका छन् । आइतबार (जेठ १८) काठमाडौंको कमलादीमा आयोजित वाईसीएलको राष्ट्रिय सम्मेलनमा उनले राजावादीको आन्दोलनलाई जवाफ दिने सरकारको इच्छाशक्ति नभएको जिकिर पनि गरे ।
“सरकारको त कुनै हैसियत नै छैन । यसको इच्छाशक्ति पनि छैन । गफ हाँक्नेबाहेक केही छैन,” उनले भने, “उनीहरूले गफ गरे, हामीले एक लाख मान्छे उतार्यौँ । काठमाडौं कब्जाको गफ गरे, देशदुनियाँमा यति बेइज्जत भयो एमाले भन्ने पार्टीको । यस्ता छन्, यिनीहरूलाई मतलबको कुरा छैन ।”
यस्तै, प्रचण्डले राजावादीहरूले पैसाको बलमा भाडाका मानिसहरू ल्याएर उत्तेजक गतिविधि गरिरहेको आरोप लगाएका छन् । पार्टीको भ्रातृ संगठन वाईसीएल नेपालको तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘अहिले राजावादीहरूले विभिन्न स्रोतबाट पैसा जम्मा गरेका छन्। त्यही पैसाको आडमा भाडाका मानिस ल्याएर, उनीहरूलाई उक्साउने, जाँड खुवाउने र उफ्राउने काम गरिरहेको मैले देखेको छु, तपाईँहरूले पनि देखिरहनुभएको छ,’ प्रचण्डले भने ।
उनले राजावादीहरूले आक्रामक व्यवहार देखाएर आफूहरूमाथि हमला गर्ने प्रयास गरिरहेको उल्लेख गर्दै त्यसको प्रतिकारका लागि तयार रहन नेता–कार्यकर्तालाई निर्देशन दिए । ‘हामीले आक्रमण गर्ने उद्देश्य राखेका छैनौँ । उनीहरूको आन्दोलनमा गएर आक्रमण गर्ने भन्ने मेरो आशय होइन,’ उनले भने, ‘तर, उनीहरूले अराजक व्यवहार देखाएर हामीमाथि आक्रमण गर्न खोज्छन् भने त्यसको जवाफ दिन हामी तयार हुनुपर्छ ।’