इलेक्ट्रिक सवारीको युगमा विश्वले पुराना नामहरूभन्दा नयाँ नवप्रवर्तनशील कम्पनीहरूलाई प्राथमिकता दिन थालेको छ। त्यस्ता कम्पनीहरूमध्ये सबैभन्दा तीव्र रूपमा उभिएको नाम हो– बीवाईडी (BYD), जसको पूरा रूप हो "Build Your Dreams"। चिनियाँ उत्पादनप्रति पूर्वाग्रही धारणा बनिरहेको अवस्थामा बीवाईडीले गुणस्तर, प्रविधि र मूल्य सुलभताको नयाँ मापदण्ड कायम गर्दै विश्व ईभी बजारमा आफनो पहिचान बलियो बनाएको छ।
बीवाईडी (BYD) अहिले विश्वका ७० भन्दा बढी देशहरूमा आफ्नो उपस्थितिसहित तीव्र गतिमा बजार विस्तार गरिरहेको छ। कम्पनीको मुख्य उत्पादन आधार चीनमा भए तापनि, अन्तर्राष्ट्रिय बजारमा यसको प्रभाव उल्लेखनीय रूपमा फैलिएको छ। चीनमा स्थापना सन् १९९५ मा भएको यो कम्पनीले सन् २००३ बाट सवारी साधन उत्पादन सुरु गर्यो र केही वर्षमै ईभी उद्योगमा अग्रणी स्थानमा पुग्यो। हाल चीनमा मात्रै बीवाईडीले सन् २०२४ मा ३५ लाखभन्दा बढी युनिट बिक्री गरेको छ, जसले यसलाई चिनियाँ बजारको निर्विवाद अग्रणी बनाएको छ।
अन्तर्राष्ट्रिय बजारको कुरा गर्दा, बीवाईडीले सन् २०२२ मा ब्राजिल, जर्मनी, स्पेन, भारत, र अन्य थुप्रै देशहरूमा प्रवेश गरेको हो। ब्राजिलमा बीवाईडीको बजार तीव्र गतिमा फैलिएको छ जहाँ सन् २०२४ मा मात्रै ४० हजार युनिट बढी गाडी बिक्री भएको छ। कम्पनीले २०२८ सम्म ब्राजिलमा वार्षिक ३.५ लाख युनिट बिक्री गर्ने लक्ष्य लिएको छ। त्यसैगरी, युरोपको प्रमुख बजार जर्मनीमा २०२४ मा २७ हजार बढी युनिट गाडी बिक्री भएको छ, जुन स्थानीय प्रतिस्पर्धीहरूलाई टक्कर दिने संकेत हो। स्पेनमा पनि कम्पनीले त्यही वर्ष २०,४५८ युनिट गाडी बिक्री गरेर आफूलाई मजबुत रुपमा स्थापित गरिसकेको छ।
एशियाली बजारमा भारत र जापान जस्ता मुलुकहरूमा बीवाईडीले सक्रिय रूपमा प्रवेश गरिरहेको छ। भारतमा कम्पनीले Atto 3, Seal र Dolphin जस्ता मोडेलहरू प्रस्तुत गरिसकेको छ, जसले स्थानीय उपभोक्तामाझ सकारात्मक प्रभाव जमाउन थालेको छ। जापानमा पनि कम्पनीले सन् २०२३ बाट व्यवसायिक गतिविधि सुरु गरेको हो र Atto 3 तथा Dolphin जस्ता मोडेलमार्फत स्थानीय बजारमा प्रतिस्पर्धा गरिरहेको छ।
सन् २०२४ मा बीवाईडीको कुल वैश्विक बिक्री ४.२७ मिलियन युनिट पुगेको थियो, जसमध्ये ४ लाख १७ हजार युनिट विदेशी बजारमा बिक्री भएको थियो। कम्पनीको दीर्घकालीन रणनीतिअनुसार, सन् २०३० सम्म चीनबाहिर ५०% बिक्री पुर्याउने लक्ष्य लिइएको छ। यसका लागि बीवाईडीले थाइल्याण्ड, ब्राजिल, र हंगेरीमा उत्पादन केन्द्रहरू निर्माण गरिरहेको छ, जसले भविष्यमा यसको अन्तर्राष्ट्रिय आपूर्ति क्षमतालाई अझ सुदृढ बनाउने बताएको छ।
बीवाईडीको यो आक्रामक विस्तार रणनीतिले देखाउँछ कि कम्पनीले केवल एक चिनियाँ ईभी निर्माता मात्र नभई, अब विश्वव्यापी प्रतिस्पर्धामा महत्वपूर्ण खेलाडीको भूमिका निर्वाह गरिरहेको छ। यो प्रवृत्ति जारी रहेमा, बीवाईडी निकट भविष्यमा विश्वको सबैभन्दा प्रभावशाली ईभी ब्रान्ड बन्ने दिशामा अघि बढिरहेको स्पष्ट देखिन्छ।
विश्वको सर्वाधिक बिक्री हुने ईभी कम्पनी
चीनको सबैभन्दा ठूलो ईभी निर्माता बीवाईडीले केवल आफ्नो घरेलु बजारमा मात्र होइन, अन्तर्राष्ट्रिय बजारमा पनि प्रभावशाली उपस्थिति बनाएको छ। सन् २०२१ देखि २०२४ सम्म लगातार विश्वमा सबैभन्दा बढी ईभी बिक्री गर्ने कम्पनीको रूपमा बीवाईडी स्थापित भएको छ। उसले टेस्ला लगायतका विश्वप्रसिद्ध कम्पनीहरूलाई प्रविधिमा पनि पछाडि पारेको छ, जुन आफैमा एउटा ठूलो उपलब्धि हो।
१,००० किलोवाटको सुपर चार्जिङ प्रणाली
केही हप्ता अघि बीवाईडीले विश्वलाई चकित पार्दै १,००० किलोवाट क्षमताको सुपर चार्जिङ प्रणाली सार्वजनिक गर्यो। यसको ‘सुपर ई–प्लेटफर्म’ नामक प्रविधिबाट ५ मिनेटको चार्जमा ४०० किलोमिटरसम्मको यात्रा सम्भव हुने दाबी गरिएको छ। यो प्रविधि हालसम्मका सबैभन्दा छिटो चार्ज हुने सिस्टमहरू भन्दा दोब्बर गतिमा काम गर्छ। तुलनात्मक रूपमा, टेस्लाको पछिल्लो सुपरचार्जरले ५०० किलोवाट मात्र सपोर्ट गर्छ। यसले ईभी चार्जिङको परिभाषा नै बदल्ने सम्भावना बोकेको छ।
बीवाईडीको प्रारम्भिक यात्रा
बीवाईडीको यात्रा सन् १९९५ मा शेन्जेन, चीनमा सुरु भएको हो। संस्थापक वाङ चुआनफु, एक सामान्य पृष्ठभूमिका रसायनशास्त्री, जसले सुरुमा मोबाइल फोन ब्याट्री उत्पादन गर्थे। सन् २००३ मा बीवाईडी अटो स्थापना गरिएपछि कम्पनीले सवारी उत्पादनमा पाइला राख्यो। केही वर्षमै कम्पनीले इलेक्ट्रिक तथा प्लग–इन हाइब्रिड सवारी उत्पादनमा केन्द्रित भएर भविष्यको बाटो पहिल्याउन थाल्यो।
ब्लेड ब्याट्री: सुरक्षित र टिकाउ समाधान
बीवाईडीको ब्लेड ब्याट्री प्रविधि कम्पनीको सबैभन्दा ठूलो सफलतामध्ये एक हो। लिथियम-आइरन-फस्फेट (LFP) आधारित यो ब्याट्री आगो प्रतिरोधी, दीर्घजीवी र सुरक्षित मानिन्छ। यसले विस्फोट वा आगलागीको जोखिमलाई लगभग शून्यमा झारेको छ। यस कारण बीवाईडीका गाडीहरू युरोपियन सुरक्षा परीक्षणहरूमा समेत उत्कृष्ट अंक ल्याउन सफल भएका छन्।
ब्लेड ब्याट्रीलाई ३३ मिनेटमै १० देखि ८० प्रतिशत सम्म चार्ज गर्न सकिन्छ । यसैका कारण नै बीवाईडीको हान ईभीले ३.९ सेकेन्डमै ० देखि १०० किमी सम्मको गति लिन सक्छ । पहिलो पटक यो गाडीमा सो ब्याट्रीको प्रयोग गरिएको थियो । बीवाईडीको हान ईभीले सिंगल चार्जमा ६०५ किमीको यात्रा तय गर्न सक्छ । यो सबै ब्लेड ब्याट्रीकै कारण भएको बीवाईडी अटो सेल्सका भाइस जनरल म्यानेजर लि युन्फेई बताउँछन् ।
विश्व बजारमा व्यापक उपस्थिति
बीवाईडीको विश्वव्यापी विस्तार उल्लेखनीय छ। हालसम्म कम्पनीले ७० भन्दा बढी देशहरूमा गाडी आपूर्ति गरिसकेको छ। भारत, नेपाल, थाइल्याण्डजस्ता एशियाली देशदेखि लिएर युरोपका नेदरल्यान्ड्स, नर्वेसम्म यसको उपस्थिति छ। ब्राजिल, चिली, दक्षिण अफ्रिकामा पनि यसको बजार विस्तार भइरहेको छ, जबकि अमेरिका भने व्यापारिक अवरोधका कारण अझै बीवाईडीका लागि खुला छैन।
अमेरिकी विद्युतीय सवारी साधन निर्माता कम्पनी टेस्लासँग विश्वको सबैभन्दा धेरै विद्युतीय कार बेच्ने कम्पनी बन्ने प्रतिस्पर्धा चर्किरहेको समयमा कम्पनीको विक्री बढेको हो । सहुलियत र छूटका अफरहरूका कारण गएको वर्ष कम्पनीको विक्री बढेको हो । टेस्लाले बिहीबार अबेर आफ्नो विक्री तथ्याङ्क सार्वजनिक गर्दैछ । अघिल्ला त्रैमासहरूमा विक्रीमा टेस्लाले बीवाईडीलाई उछिनेको थियो । २०२४ मा बीवाईडीको कूल विक्री अघिल्लो वर्षको तुलनामा ४१ प्रतिशतले बढेको छ ।
सन् २०२४ को तथ्याङ्कहरू
सन् २०२४ मा बीवाईडीले कुल ४.३० मिलियन गाडी उत्पादन गर्यो, जसमध्ये ४.२७ मिलियन बिक्री भए। Battery EV को संख्या १.७७ मिलियन थियो भने Plug-in Hybrid गाडीको संख्या २.५० मिलियन पुगेको थियो। विदेशमा मात्र ४१७,२०० युनिट गाडी निर्यात गरिएको थियो। प्रमुख मोडेलहरूमा Atto 3, Dolphin, Seal, Seagull र e6 पर्छन्।
दीर्घकालीन रणनीति र लक्ष्यहरू
बीवाईडीले २०३० सम्म चीनबाहिर ५०% गाडी बिक्री गर्ने लक्ष्य राखेको छ। यसका लागि थाइल्याण्ड, ब्राजिल र हंगेरीमा नयाँ कारखानाहरू खोलिँदै छन्। हाल उपलब्ध ‘Seagull’ मोडेलले विश्वभर सस्तोमा ईभी पहुँच पुर्याउने योजना लिएको छ।
चुनौतीहरू: अवसरसँगै सन्तुलन
यद्यपि बीवाईडीले उल्लेखनीय प्रगति गरेको छ, अमेरिकी बजारमा पहुँच नपाउनु, सप्लाई चेनमा उत्पन्न हुने संकटहरू, र अन्य ब्रान्डहरूसँगको कडा प्रतिस्पर्धा अझै कम्पनीका लागि चुनौती छन्। लिथियम, कोबाल्टजस्ता कच्चा पदार्थको मूल्यवृद्धिले उत्पादन लागतमा असर पुर्याएको छ।
चिनियाँ सपना, विश्वको वास्तविकता
बीवाईडी अब केवल चीनको कम्पनी रहेन। यो एक वैश्विक नवप्रवर्तनको प्रतीक बनेको छ। सुरक्षित ब्लेड ब्याट्री प्रविधि, सस्तो तथा भरपर्दो गाडीहरू, र सुदृढ रणनीतिका साथ बीवाईडीले विश्व ईभी बजारमा स्थायी छाप छोडेको छ। निकट भविष्यमा यो कम्पनी एक मात्र ईभी नेताको रूपमा उभिने प्रबल सम्भावना बोकेको छ।