वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युके र पोल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं दक्षिणकाली नगरपालिका-१ बस्ने रामेछाप मन्थली नगरपालिका-३ घर भएकी ४० वर्षीया प्रमिला बरूवाल र काठमाडौं महानगरपालिका-२६ गोंगबु बस्ने पाल्पा माथागढी गाउँपालिका-४ घर भएका ३४ वर्षीय मोहन पोख्रेल रहेका छन् ।
पक्राउ मध्ये प्रमिलाले युके पठाइदिन्छु भन्दै ७ जना पीडितहरूबाट ३२ लाख ३५ हजार रूपैयाँ र मोहनले पोल्याण्ड पठाइदिन्छु भन्दै १ जना पीडितबाट १० लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले प्रमिलालाई काठमाडौं नागार्जुन नगरपालिका-३ हलचोकबाट र दिनेशलाई काठमाडौं महानगरपालिका-२६ गोंगबुबाट पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।